काठमाडौं । नेपाली भाषा साहित्यमा समर्पित त्रिमूर्ति निकेतनले विभिन्न स्रष्टा तथा साहित्यकारलाई असोज ११ गते पुरस्कृत गरेको छ । त्रिमूर्ति निकेतनमा आयोजित समारोहमा नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा योगदान गरेका साहित्यकारलाई त्रिमूर्ति काव्य पुरस्कार प्रदान गरिएको हो ।
त्रिमूर्ति पुरस्कारबाट वेदराज पन्त, अजम्बरध्वज खाती, कमल जङ्गली, काशीनाथ जोशी, केदार शर्मा, गङ्गाप्रसाद अकेला, चारुशीला मिश्र, वासुदेव ढकाल, सिद्धीकर्ण शर्मा र सीतादेवी रिमाल पुरस्कृत हुनु भएको छ ।
त्यसैगरी लेखनाथ पौडेल पुरस्कारबाट श्रीहरि फुयाँल, बालकृष्ण सम पुरस्कारबाट सरुभक्त श्रेष्ठ, देवकोटा काव्य पुरस्कारबाट मञ्जु काँचुली पुरस्कृत हुनुभएको छ । ती सबै पुरस्कारको राशि रु १० हजार नगदसहित ताम्रपत्र रहेको छ ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा भएको सो कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी र साहित्यकार डा बानिरा गिरीले उहाँहरूलाई पुरस्कृत गर्नुभएको हो ।
संस्कृतिविद् जोशीले सो संस्थाले देशभरका विभिन्न स्रष्टाको खोजी गरी सबैलाई एउटै मञ्चमा सहभागी गराई पुरस्कृत गर्ने परिपाटीले नेपाली साहित्यमा समावेशीकरण, सह–अस्तित्व र सहमतिको संस्कृति विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार डा गिरीले नेपाली भाषा अन्तर्राष्ट्रियस्तरमा स्थापित हुने क्रममा रहेको उल्लेख गर्दै पुरस्कृत स्रष्टालाई बधाई दिनुभयो ।
सो कार्यक्रममा नरेन्द्रराज प्रसाईंले लेख्नुभएको ‘विश्व नारी रत्नः बानिरा गिरी’ नामक पुस्तक विमोचन गरिएको थियो । सो कृतिको प्रा राजेन्द्र सुवेदीले समीक्षा गर्नुभयो ।