युगसम्बाद साप्ताहिक

नौजनालाई नइ बाल पुरस्कार प्रदान
Tuesday, 11.11.2014, 12:36pm (GMT5.5)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, शताब्दी पुरुष डा. सत्यमोहन जोशी र नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई शनिबार कार्तिक २२ गते काठमाडौंमा २०७१ सालको नइ देरुनीखपु पुरस्कार प्रदान गर्नुभयो । 

नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा साहित्यतर्फ दीपशिखा घिमिरे, चित्रकलातर्फ असलराज तिम्सिना (सुनसरी), गायनतर्फ निर्मित विष्ट (सुनसरी), नृत्यतर्फ जीया जोशी (चितवन), खेलकुदतर्फ शर्र्मिला गाहा मगर र बहुआयामिकतर्फ सृष्टि महर्जनलाई नइ देरुनीखपु पुरस्कार प्रदान गरियो । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसै गरी नइ देरूनीखपु कोपिला पुरस्कार सङ्गीतमा प्रकृति मानन्धर र नृत्यमा कशिष शाक्यलाई प्रदान गरिएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।

साथै ताम्रपत्रसहित पाँच हजार रपियाँ राशिको नइ देरूनीखपु  चिचिला पुरस्कार नृत्यका लागि तीन वर्षीया प्रयत्ना सिलवाललाई प्रदान गरिएको छ ।

समारोहमा प्रमुख अतिथि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले भन्नु भयो ‘‘नेपाल सरकार र प्रज्ञाप्रतिष्ठानहरूले गर्नुपर्ने पनि काम नइ प्रकाशनले गरिरहेको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउने साहित्यिक र साँस्कृतिक कार्यमा समेत नइ प्रकाशनले महत्वपूर्ण भूमिका खेलेको छ ।’’ 

शताब्दी पुरुष डा.सत्यमोहन जोशीले भन्नु भयो ‘‘नेपाली वाङ्मयको पटभूमिमा अरु संस्था वा व्यक्तिले गर्न नसकेका र गरिमायुक्त काम नइ प्रकाशनले गर्दै आएको छ । साथै अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यमा समेत नइ प्रकाशनले सफलता पाउँदै आएको छ ।’’

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि मन्तव्य प्रकट गर्नुभएको थियो । समारोहमा पुरस्कृत बालबालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

नइ प्रकाशनले देशदेशान्तरका प्रतिभालाई हरेक वर्ष ११ लाख रूपियाँ राशिका २६ वटा पुरस्कारहरू प्रदान गर्दै आएको छ ।

कवि मणिराजको ‘ओ चन्द्रमा’ आयो
कवि मणिराज सिंहको साताँै कृति ‘ओ चन्द्रमा’ कविता संग्रहको शनिबार विमोचन गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा भएको ९७औँ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरेले उक्त कृतिको विमोचन गर्दै समसामयिक विचारधाराबाट प्रभावित सो कृतिले समाजका विकृति विसङ्गतिलाई समेटेको उल्लेख गर्नुभयो ।

समीक्षक ज्ञाननिष्ठ ज्ञवाली र कमला रिसाल ‘ज्योति’, प्राज्ञ मातृका पोखरेल, प्रा गोपीकृष्ण शर्मा, प्रा डा सुष्मा आचार्य, उषा शेरचन, गीता केशरी, मञ्जु निरौलालगायतले कृतिलाई साहित्यिक क्षेत्रमा नयाँ आयामका रुपमा व्याख्या गर्नुभयो ।

कविको यसअघि पाँच कविता सङ्ग्रह र जीवनी प्रकाशन भइसकेका छन् । विमोचित कृतिमा ९७ कविता रहेका छन्, जसमा सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा नरेन्द्रकुमार नगरकोटी र सङ्गीता पनेरुले कविता वाचन गर्नुभएको थियो । 


अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चमा ओझा
नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागि स्थापित अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च (अनेगम) को प्रथम अधिवेशनले घनेन्द्र ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।मञ्चको उपाध्यक्षमा प्रभाती किरण, महासचिवमा पुरानाघरे (अमेरिका), कोषाध्यक्षमा प्रदीप चापागाईं (अस्ट्रेलिया) निर्वाचित हुनुभएको हो ।

यसैगरी सदस्यहरुमा दिनेशराज ज्ञवाली (जापान), नारायण गाउँले (बेलायत), शिवराज पन्त (बेलायत), श्रीजन श्री (मलेसिया), रमेश विमान (कोरिया), भगवती कँडेल (इजरायल), तीर्थ यात्री पौडेल (साउदी अरब), किरण कौशल मेयोङ्बा (युएई) र शैलेन्द्र समदर्शी (भारत) रहनुभएको छ । 

 नेपाली गजलका क्षेत्रमा क्रियाशील नेपाल र अन्य देशमा रहनुभएका स्रष्टाको सङ्गठित प्रयासमा सन् २०१२ मा मञ्चको स्थापना गरिएको हो ।

अध्यक्ष ओझाले नेपाली गजललाई अन्तर्राष्ट्रिय पहिचान दिन, गजललाई गायनमा ल्याउन र असल गजल स्रष्टालाई प्रकाशनमा ल्याउन आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताउनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com