युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी
Monday, 12.29.2014, 07:32pm (GMT+5.5)

- नरेन्द्रराज प्रसाई

नेपाली भाषासाहित्यका विभूति लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौं अर्चलेग्राममा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त पौड्याल थिए । पौड्यालले सानैदेखि घोकन्ते विद्या पढे । पढ्ने क्रममा यिनले सर्वप्रथम गङ्गा गणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आपूmभित्रको जागृतिको दैलो उघारेका थिए । उनी सानैमा साहित्यिक लेखनमा पनि अघि सर्न खोजे । यसैक्रममा उनले आफू साहित्यलेखनमा लाग्न पं. पितृप्रसादको सहयोग लिन खोजे । तर यस मामलामा यिनले पितृप्रसादबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनबिन्दुमा आपूmलाई पुर्याएका थिए ।

पौड्याल आपूm चौध वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि नै उनी कविता लेखनमा आबद्ध हुन थाले । काठमाडौंमा तीन वर्ष पढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए ।  तर त्यस जाँचमा उनी फेल भए । त्यसपछि उनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनी पण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृतभाषामा कविता छापिए । साथै त्यति बेला सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले उनका लेख छापेर यिनलाई प्रोत्साहन गरेका थिए ।

फेल भएपछि पौड्यालको औपचारिक पठनपाठन अगाडि बढेन । अनि उनी बरालिन थाले । बरालिंदा बरालिंदै उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुरमा पुगे । कामको खोजीमा उनी त्यहाँ केही समय बसे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिँदै भारतको आसामतिर लागे । त्यसैबीच उनीसँग राममणि आचार्य दीक्षितको सम्पर्क भयो । घटराज भट्टराईका अनुसार त्यसैताका “हलन्त बहिष्कार अभियानमा आचार्य र पौड्यालको सहमति बनेको थियो ।” पछि राममणि आदी राणाका दरबार घुस्रेपछि पौड्याल उनलाई पछ्याउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररी टेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए ।

राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहानबेलुकाको गर्जो पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरियासमेत पनि बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौड्यालको शिरमा बल्लबल्ल लागेको घाम पनि झाटझुटै अस्तायो । त्यसपछि फेरि यी भौंतारिन थाले ।

शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनि शारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले । त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाको राणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि पौड्याललाई चाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौड्यालले नेपाली काङ्ग्रेसको चारतारे बिल्ला लगाएर आपूmलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शन गरेका थिए ।

 पौड्याल जुन सिद्धान्तमा लागे तापनि उनी लेखिरहन्थे र आफ्नो साहित्यिक अड्डा जमाइरहन्थे । उनको लेखन गाउँघरमा जति प्रिय थियो दरबारमा पनि त्यस्तै रौनकदार हुन्थ्यो । उनको सृजनाका कारणले नै उनलाई २००८ साल असार २९ गते राजा त्रिभुवनले ‘कविशिरोमणि’को पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता पनि प्रदान गरेका थिए ।

लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि नेपाली संसारमा उनी झनै मर्यादित भए । त्यस बेहोराले उनी उत्साहको शिखरमा नै पुगेका थिए । त्यसपछि उनको हैसियत अति नै माथिल्लो कोटिमा दाँजिन थाल्यो । त्यसपछिका दिनहरूमा साहित्यिक सङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले । 

‘कविशिरोमणि’को सम्मान पाएपछि पौड्यालले सर्वप्रथम आफ्ना गुरु दधिराम मरासिनीलाई एउटा चिठी लेखेका थिए–‘‘मेरा पूज्य गुरु ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।’’ वास्तवमा नै ‘कविशिरोमणि’को सम्मान पाएपछि उनले आफ्नो शिर उठेको ठानेका थिए । त्यसपछि उनी कविता लेखनमा मात्रै समर्पित भइरहे । 

लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुबै मिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोक पुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जिलिङ जाँदा त्यहाँका साहित्यिक त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपाली भाषासाहित्यमा ‘त्रिमूर्ति’ भन्नेबित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले ।

२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा उनको रथयात्रा गरिएको थियो । यो काम गर्ने प्रमुख हस्ती थिए– गोपाल पाण्डे ‘असीम’ । साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । त्यसै बेला देवकोटा र समले पौड्याललाई रथारोहण गराएका थिए । त्यस दिन पौड्यालका हातमा जनअभिनन्दनपत्रका साथ भारतीय पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यस घटनाको खुसियालीमा पौड्याल रोएका थिए । 

पौड्याललाई रथारोहण गराइएको विषय नेपाली साहित्यका फाँटमा फेरि अर्को हलचल थियो । त्यसपछि उनको व्यक्तित्वको गरिमाले अर्को रौनक थपेको थियो । त्यो समय नै अत्यन्तै मनमोहक थियो । यसैबारे उत्तम कुँवरले लेखे “२०११ पुस २० गतेको मध्यदिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड् र म छाड् गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइन विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।”

पौड्यालका दुई दर्जन जति कृति प्रकाशनमा आए । उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगत योगदानले उनी नेपाली परिवेशमा सर्वत्र पैmलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा ‘त्रिभुवन प्रज्ञापुरस्कार’ पनि प्रदान गरिएको थियो ।

महाकवि देवकोटाका जोडले पौड्याल नेपाल एकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौड्याललाई नपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्याएका थिए; तर त्यसै बेला देवकोटाले राजालाई सन्देश पठाएका थिए “ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन ।” त्यसपछि पौड्याल पनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनीत भए ।

पौड्यालले आफ्नो लेखन गुरु मरासिनीलाई मानेझैंै उनका मन पर्ने लेखक कालिदास थिए । उनका मन पर्ने अर्का स्रष्टा मैथिलीशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । वास्तवमा देवकोटाले चाहिं यिनका लागि आफ्नो ज्यानै पनि फाल्थे । लेखनाथलाई सबैभन्दा पहिला कविसम्राट्को उपाधि लेख्ने पनि देवकोटा नै थिए । देवकोटाका अनुसार कविशिरोमणि लेखनाथ पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।

पौड्यालले आजीवन दुई सय रूपियाँ वृत्ति पाउँदा पनि उनलाई आर्थिक अभाव भइरहन्थ्यो । महेन्द्रकालीन युगमा चाहिं उनलाई गर्जो टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनको बिहानबेलुकाको चुल्हो बाल्ने काम पनि महेन्द्रले नै गरिदिए । यसबारे पौड्यालले भने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।”

पौड्यालले दुई जनासँग बिहे गरे । उनका छोरा अनन्त पौड्याल नेपाल सरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवी भट्टराईले पनि नेपाली भाषासाहित्यमा आपूmहरूलाई उभ्याए ।

 राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आपैmँ भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति वेला लेख्नु त पापै सम्झिन्थ्यो । तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”

लेखनमा लागिरहेका बेला पौड्यालको स्वास्थ्य क्रमशः खस्किन थाल्यो । अनि उनका आँखा पनि मधुरो मधुरो हुँदै गए । २०२० सालपछि उनको देब्रे आँखालाई मोतीबिन्दुले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे । 

पौड्यालले बूढेसकालमा पनि लेखे । उनी थोरै लेख्थे तर राम्रो लेख्थे । कसैले उनलाई सभासमारोहमा प्रमुख अतिथिका रूपमा बोलायो भने उनी खुसी भएर पुग्थे । त्यो क्रम पनि उनले जीवनभरि धानिरहे । 

२०२२ सालमा पौड्याल तीर्थ गर्न काठमाडौंबाट बनारस लागे । तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे । त्यहाँ उनी केही दिन अडे । अनि उनले भने “अब म मर्छु र मर्न मेरै देशमा फर्कन्छु ।’’ त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्याइयो । उनको त्यो समाचार राजा महेन्द्रले सुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ त्यहीं पठाएका थिए । 

अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवङ्गत भए । यो समाचार सुन्नेबित्तिकै नाट्यसम्राट् बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपाली साहित्य बोलिने सारा संसारमा यो बेहोराको सम्प्रेषण भयो ।

स्वर्गारोहणपछि कविशिरोमणि लेखनाथ पौड्यालको महिमामा सरकारले हुलाक टिकट पनि प्रकाशनमा ल्याएको थियो । साथै काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति निकेतनबाट उनको पूर्णकदको सालिक उभ्याइएको छ, जसको बायाँमा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन् ।

पौड्यालका कृति 
कवितासङ्ग्रह
१. लालित्य भाग १ (२०१०), २. वर्षाविचार (१९६५), ३. लालित्य भाग २, (२०२५), ४. कविशिरोमणि लेखनाथ पौड्यालका प्रतिनिधि कविता (२०४१), ५. लेखनाथका प्रमुख कविता (२०४६) ।

काव्य
६. शोक प्रवाह (१९७०), ७. ऋतुविचार (१९७३÷९१), ८. बुद्धिविनोद (१९७३), ९. सत्यकलि संवाद (१९७६), १०. गीताञ्जली (१९८६), ११. बुद्धिविनोद पहिलो विनोद           (१९९४), १२. त्याग र उदयको युगल प्रकाश (२००२), १३. अमरज्योतिको सत्यस्मृति (२००८), १४. तरूण तपसी (२०१०), १५. मेरो राम (२०११) ।

महाकाव्यांश
१६. गङ्गागौरी (२०४६)

नाटक 
१७. भर्तृहरिनिर्वेद  (१९७४), १८. लक्ष्मीपूजा  (१९९४), १९. गौरीगौरव (२००९ मा मञ्चन तर अप्रकाशित) ।

अनुवाद
२०. पञ्चतन्त्र  (२००४), २१. अभिज्ञानशाकुन्तल  (२०१५), २२. गीतासार ।

अन्य 
२३. सूक्तिसिन्धु, २४. जोगमण्डलीका कवि र कविता आदिमा फुटकर कविता र समस्यापूर्तिहरू प्रकाशित ।


Rating (Votes: )   
Share     Print


Other Articles:
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)



 
::| Latest News

 
[Page Top]