विजय थापा, वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक २०१५ तथा १०६ औ देवकोटा जयन्ति मनाइएको छ । त्यस्तै वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई अभिनन्दन गरिएको छ ।
नेपाली राजदुताबासका कार्यबाहक राजदुत ऋषि राम घिमिरे प्रमुख अतिथि तथा साहित्यकार बिशेष अतिथिका रुपमा रहनुभएको सो कार्यक्रममा स्वागत मन्तब्य साहित्यकार प्रकाश नेपालले गर्नुभएको थियो भने शिव लामिछानेले देवकोटालाई समर्पित गर्दै एक कविता पनि वाचन गर्नुभएको थियो ।
अनेसासका पूर्व अध्यक्ष तथा साहित्यकार बसन्त श्रेष्ठले देवकोटाले सबै वर्गलाई समेटेर लेख्नेगरेको बताउँदै देवकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानले नेपाली साहित्य यो अवस्था पुगेको चर्चा गर्नुभयो ।
यसै गरी अनेसासका संस्थापक होमनाथ सुबेदीले देवकोटा तथा डा तारानाथ शर्माको बारेमा मन्तव्य राख्नुभएको थियो । बिशेष अतिथि तारानाथ शर्माले देवकोटालाई देवता मान्छु भन्दै आफू भारतको खर्साङ्गमा पढ्दा दार्जिलिंग आएर देवकोटालाई भेटेको कहानी सुनाउनु भएको थियो ।
नेपाली राजदुताबासका कार्यबाहक राजदुत तथा प्रमुख अतिथि ऋषि राम घिमिरेले अनेसासलाई धन्यबाद दिदै देवकोटाप्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो । यसै गरी अनेसासका गुठीका अध्यक्ष डा श्याम कार्कीले सबैमा धन्यबाद दिनु भएको थियो भने कार्यक्रम संचालन रामप्रसाद खनालले गर्नुभएको थियो ।
यसै गरी अमेरिकाको बोस्टनमा एक अर्को कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देबकोटा को १०६ औं जन्म जयन्तीका अवसरमा डा. तारानाथ शर्मालाई एक हजार एक डलर सहित बिशेष अभिनन्दन गरिएको थियो । पाटन स्थायी घरभएका हाल बोस्टन निवासी नेपाली भाषा साहित्यप्रेमी शान्ति जोशी तथा प्रयागमान श्रेष्ठले यसै वर्ष स्थापना गरेको शिवजगत स्मृति प्रतिष्ठानको ‘शिवजगत साहित्य पुरस्कार‘द्वारा उहाँलाई सम्मान गरिएको हो ।
अनेसास बोस्टनकाका अध्यक्ष हरि काप्लेको अध्यक्षतामा सचिव यम पौडेलले कबितामय वातावरणमा संचालन गरेको कार्यक्रममा सर्जक महेश्वर पन्तले आफ्नो रचनामार्फत सबैलाई स्वागत गरेका थिए भने अनेसास बोस्टनका पूर्व सचिव शिवप्रकाश पौडेलले लक्ष्मी जयन्तीको महत्व र देवकोटाको रमाइलो पक्ष ऊपर चर्चा गरेका थिए ।
प्रमुख अतिथिलाई सम्मान गर्ने क्रममा अनेसास केन्द्रका महासचिव गोबद्र्धन पूजाले डा तारानाथ शर्माको लेखन तथा साहित्यिक परिचय बताएका थिए भने डा. ताना शर्मा कि धर्मपत्नी शान्ता शर्मालाई समेत शान्ती जोशी दम्पतिले दोसल्ला ओढायर सम्मान गरेका थिए ।
मञ्जु काँचुलीलाई ‘शङ्कर कोइराला स्मृति’ पुरस्कार
काठमाडौं । आख्यानकार मञ्जु काँचुली तिवारीलाई ‘शङ्कर कोइराला स्मृति’ पुरस्कारबाट सम्मान गरिएको छ । आख्यानकार शङ्कर कोइरालाको स्मृति दिवसका अवसरमा दायित्व वाङ्मय प्रतिष्ठान नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँलाई रु १० हजारसहित सम्मान गरिएको हो ।
यसैगरी, नेपाली भाषा, साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका शेषराज शिवाकोटीलाई ‘दायित्व वाङ्मय सम्मान–२०७२’ द्वारा सम्मानित गरियो ।
सोही कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले लेख्नुभएको लघुकथासङ्ग्रह ‘दाउ’को विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार माया ठकुरी, शुभ सेन, पूर्वमन्त्री हरि न्यौपाने, शङ्कर कोइरालाका छोरा अनिल कोइराला, प्रतिष्ठानका अध्यक्ष पन्त, लेखक घलेलगायतले नेपाली आख्यानमा शङ्कर कोइरालाले पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।