युगसम्बाद साप्ताहिक

शनिबार एकैपटक छ कृतिको विमोचन
Tuesday, 06.21.2016, 11:31am (GMT5.5)

राष्ट्रकवि घिमिरको संरक्षकत्व पाएको उहाँकै जन्मथलोको नाममा स्थापित साहित्यिक संस्थाले शनिबार एकैपटक छ कृतिको विमोचन गरेको छ । राष्ट्रकवि घिमिरेको जन्मथलो लमजुङ र त्यस वरपरका क्षेत्रको साहित्यिक विकासका लागि स्थापना भएको यस प्रतिष्ठानले एकैपटक छ कृति नेपाली बजारमा ल्याएको हो । 

प्रतिष्ठानले नवोदित कलेज सामाखुशीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा ती कृतिको उहाँहरूबाट संयुक्तरूपमा विमोचन भयो । 

प्रतिष्ठानद्वारा तयार पारिएका दुई कृतिसहित लमजुङका साहित्यकारद्वारा सिर्जना गरिएका छ साहित्यिक कृति विमोचन गरियो । सोमध्ये प्रतिष्ठानले निकालेको ‘ मस्र्याङ्दी स्मारिका’ र ‘मस्र्याङ्दी परिचय कोष’, कवयित्री चन्द्रवदना घिमिरेद्वारा लिखित ‘स्मृतिभित्रका केही पात्र’, ‘माता पिताको संस्करण’, ‘ऋतुचक्र’ र चन्द्रमणि अधिकारीद्वारा लिखित ‘मेरो आकास’ विमोचन गरिएको हो । 

कार्यक्रममा राष्ट्रकवि घिमिरेले प्रतिष्ठानले स्मारिका निकालेर लमजुङको साहित्यिक इतिहासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो – “यी कृतिले नेपाली साहित्यको गरिमालाई उँचो बनाएको छ ।” उहाँले आगामी दिनमा पनि यस्तो काम गर्दै जानका लागि प्रतिष्ठानलाई आग्रहसमेत गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले प्रतिष्ठानले काठमाडौँ र लमजुङमा विभिन्न कार्यक्रम राखी नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो – “यो प्रतिष्ठानका विभिन्न कार्यक्रममा म सहभागी हुने अवसर मिलेको छ, राष्ट्रकवि संरक्षक रहेको प्रतिष्ठानले राष्ट्रलाई नै गौरव बनाएको छ ।”

प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले एक वर्षको अथक प्रयासमा विभिन्न क्षेत्रका मानिसका लेख रचना जुटाएर कृति प्रकाशन गरेको बताउनुभयो । प्रतिष्ठानका सचिव कृष्णकान्त घिमिरेले आगामी दिनमा यसलाई थप व्यापक बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा राष्ट्रकवि घिमिरेले आफूले लेखेका साहित्यिक कृतिमाथि विद्यावारिधि गर्ने छ जनालाई सम्मान गर्नुभएको थियो । उहाँको कृतिमाथि विद्यावारिधि गर्नुहुनेमा डा शैलेन्दुप्रकाश नेपाल, डा कृष्णराज विसी, डा लेखप्रसाद निरौला, डा कुलप्रसाद ढुङ्गाना, डा जयन्ती रूपाखेती र डा विष्णुकुमार खत्री रहनुभएको छ । उहाँहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com