कविशिरोमणि पौड्यालको जन्मजयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्याल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा माल्यार्पण गरियो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इं र सदस्यसचिव नरेन्द्रराज प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठलगायतले त्रिमूर्ति(कविशिरोमणि, नाटयसम्राट् र महाकवि)ले देखाएको बाटामा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हो भन्नुभयो ।
कार्यक्रममा डा बलदेव अधिकारी ‘गाउँले’, देवकुमारी लुइँटेल र यादव भट्टराईले कविता वाचन गर्नुभएको थियो ।
कविशिरोमणिको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घाँैअर्चलेमा भएको थियो । विसं २००८ असार २९ गते पौडयाललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक रू दुई सय आजीवन भत्ता प्रदान गरिएको थियो ।
विसं २०११ मा पौडयालकै शुभजन्मोत्सवका उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । पौड्यालका दुई दर्जन जति कृति प्रकाशित छन् । पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो । विसं २०२२ को शिवरात्रि अर्थात् फागुन ७ गते पौड्यालको देहावसान भएको थियो ।
तरूण तपसी’ उद्यान उद्घाटन
कविशिरोमणि लेखनाथ पौड्यालको १३३ औँ जन्मजयन्तीका अवसरमा उहाँको जन्मस्थल लेखनाथ नगरपालिकाको अघौँअर्चलेमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा लेखनाथ साहित्य प्रतिष्ठानबाट स्थापित रू ५० हजार राशिको ‘लेखनाथ साहित्य पुरस्कार’बाट प्रा बालकृष्ण पोखरेललाई सम्मान गरियो ।
त्यस्तै लेखनाथ पत्रकार मञ्चद्वारा सञ्चालित रू ११ हजार १११ राशिको ‘लेखनाथ पत्रकारिता पुरस्कार’बाट मेघराज आचार्य पुरस्कृत हुनुभयो । यसैगरी ‘कुन्तीदेवी शिक्षा पुरस्कार’बाट गत वर्षको प्रवेशिका परीक्षामा लेखनाथ नगरपालिका सामुदायिक विद्यालयमध्येबाट सर्वोत्कृष्ट अङ्क ल्याउने गगन माविका कृति खनाललाई रू १० हजार राशि प्रदान गरियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चन्द्रकान्त÷मधुमाया र फणीन्द्रकुमारी छात्रवृत्ति पुरस्कारबाट पनि स्रष्टाहरूलाई सम्मान गर्नाका साथै ‘तरूण तपसी’ उद्यानको उद्घाटन गर्नुभएको थियो ।
प्रा डा श्रेष्ठलाई ‘इतिहासरत्न’ उपाधि
सविद् प्रा डा पुरूषोत्तमलोचन श्रेष्ठलाई ‘इतिहासरत्न’ उपाधिल शनिबार भक्तपुरमा सम्मान गरिएको छ । धालाँखुसि ल्वहँहिति सुधार समिति भक्तपुरले यहाँ आयोजना गरेको कार्यक्रममा जोशी रिसर्च इन्स्टिच्युट ललितपुरले उहाँलाई उक्त उपाधिले सम्मान गरेको हो । कार्यक्रममा प्रा डा श्रेष्ठद्वारा लिखित ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’ र ‘धालाँखुसि र फलेहिति’ शीर्षक दुई ग्रन्थको लोकार्पण समेत गरियो ।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले इतिहासको अध्ययन गर्ने विद्यार्थी समेत नभइरहेको अवस्थामा इतिहास र सम्पदालाई जोगाउन यस्ता पुस्तकले ठूलो टेवा पु¥याउने बताउनुभयो ।
पुस्तक प्रकाशक विनोदराज शर्मा, समीक्षक प्रकाश दर्नाल, विश्वमोहन जोशी, सुधादेवी श्रेष्ठ, डा सरिता थापा, कृष्णप्रसाद दुमरूलगायतले प्रकाशित कृति इतिहासको दस्तावेज हो भन्नुभयो ।
पूर्वीय दर्शनको वैज्ञानिक खोज बढ्दै
दर्शनशास्त्री गोपीरमण उपाध्यायद्वारा लिखित ‘प्राकृतिक भौतिकवाद भाग १ र २’, ‘पूर्वीय भौतिकवाद’, ‘षड्दर्शन सम्युज्ञ’ र ‘बौद्ध दर्शन’ शीर्षक कृति शनिबार सार्वजनिक भएको छ । एमाले केन्द्रीय पार्टी स्कुल विभागले आज यहाँ आयोजना गरेको ‘दार्शनिक ग्रन्थहरूको लोकार्पण’ कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वीय दर्शनबारे चेतनाको वृद्धिसँगै वैज्ञानिक खोज पनि बढ्दै गएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीले दक्षिण एसियामा पूर्वीय दर्शनको विकास भएको र भविष्यमा पनि यसको बहस तीव्र रूपमा चलिरहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियामा अध्यात्म दर्शनको राम्रो विकास भएको र पुस्तकले राम्रोसँग अध्यात्म दर्शनका बारेमा उल्लेख गरेको बताउनुभयो ।