नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार शोक वक्तव्य जारी गरी उहाँले सिर्जना गर्नुभएका ‘बहिनीलाई चिठी’, ‘लेखक कसरी बन्ने ?’, ‘तँ, तिमी, तपाईं, हजुर’, ‘केही कविता केही गीत’, ‘राम्रो नराम्रो’, ‘श्यामप्रसादका निबन्धहरू’जस्ता दर्जनौँ कृतिले समाजमा प्रकाश छरिरहने र सामाजिक एवम् सांस्कृतिक रुपान्तरणमा उहाँले गरेको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।
यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालले श्यामप्रसादको निधनमा शोक व्यक्त गर्दै उहाँ नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनका अगुवा रहेको जनाएको छ ।
प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले प्रेस विज्ञप्ति जारी गरी उहाँले नेपाली समाजको सामाजिक, सांस्कृतिक रुपान्तरणको मूल कार्यसूची बोकेर आजीवन स्रष्टाहरूलाई वैचारिक ऊर्जा प्रदान गर्दै आइरहनुभएको बताउँदै नेपाली प्रगतिवादी निबन्ध विधा र नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान स्मरणीय रहेको जनाउनुभएको छ ।
आमूल परिवर्तनकामी नेपाली कम्युनिस्ट आन्दोलनमा समेत उहाँको योगदान अतुलनीय रहेको बताउँदै प्रलेसले श्रद्धाञ्जलिसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
अल्जाइमरबाट पीडित ९८ वर्षीय शर्माको आइतबार बिहान निधन भएको थियो । उहाँको आइतबार नै अन्त्येष्टि गरिएको छ । सभामुख ओनसरी घर्ती नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, शिक्षामन्त्री धनीराम पौडेल तथा साहित्यकार लगायतले उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।