साहित्यकार सिद्धिदास महाजुको १५० औँ जन्मजयन्ती शनिबार भक्तपुरमा मनाइएको छ । सिद्धिदास प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले भाषा र जाति बचाइ राख्न संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
समाज परिवर्तनका लागि १५० वर्ष अगाडि सिद्धिदासले गरेको क्रान्तिकारी अभियान ठूलो महत्व रहेको चर्चा गर्दै उहाँले ‘भाषा म्वासा जाति म्वाइ’ भन्ने मूलमन्त्रलाई सिद्धिदासले त्यतिबेला नै देशको समग्र विकास गर्न भाषा, जाति र त्यसको संस्कृतिको उत्थानका लागि आवाज उठाएको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडाको सभापतित्वमा भएको कार्यक्रममा मल्ल के सुन्दर, राज जोशी, अगिब बनेपालीलगायतले सिद्धिदासको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी एवं प्रधानाध्यापक कैलाशभक्त प्रधानांगलाई सम्मान गरिएको थियो भने प्रतिष्ठानद्वारा सञ्चालित नेपाल लिपी कक्षामा उत्तीर्ण भएकालाई प्रमाणपत्र पनि वितरण गर्नुभयो ।
‘हीरामणि–झुमा दाहालको परिकल्पना’ सार्वजनिक
हीरामणि दाहाल र झुमा दाहालद्वारा लिखित ‘हीरामणि–झुमा दाहालको परिकल्पना’नामक कृति सार्वजनिक गरिएको छ ।
कृतिको रुपाखेती दाहाल कूल कल्याण प्रतिष्ठानले शनिबार आयोजित कार्यक्रममा साहित्यकार श्रीहरि रुपाखेतीले गर्नुभएको हो । कृति सार्वजनिक गर्दै साहित्यकार रुपाखेतीले बुढेसकालमा दाहाल दम्पतीले कृतिमार्फत समाजका समसामयिक यथार्यतामा पस्केको बताउनुभयो ।
उहाँले आफूजस्तै कम पढेका व्यक्तिले गर्ने सामाजिक गतिविधिलाई लेखकद्वयले सरल भाषामा प्रस्तुत गरेको बताउनुभयो ।
जो मान्छेको भित्रैदेखिको कुरा निस्केर प्रस्फुटन हुन्छ त्यो नै साहित्यिक व्यक्ति हुने गरेको चर्चा गर्दै कृतिमा लेखकद्वयले आफ्नो मनभित्रका कुरा प्रष्टरुपमा उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक पुरुषोत्तम दाहालले लेखकद्वयले देशका लागि समाज र मान्छेको कस्तो भूमिका हुनुपर्दछ भन्ने कुरा उल्लेख गर्नुभयो । उहाँले सनातन धर्म र परम्परा गुम्ने हो कि भन्ने डर कृतिमा लेखकद्वयले उल्लेख गरेर नयाँ पुस्तालाई संरक्षण गर्न जोड दिनुभएको छ ।
कार्यक्रममा लेखक हीरामणि दाहालले धर्म संस्कृति र समाजको यर्थातबारे जानकारी दिनका लागि कृति लेखेको बताउनुभयो । उहाँले हिन्दू धर्मलाई अन्य धर्मले आक्रमण गरिरहेको उल्लेख गर्दै हाम्रो परम्परागत धर्म जोगाउन आग्रह गर्नुभयो ।
हीरामणिले जीवनयात्राका आरोहअवरोहमा प्राप्त गरेका अनुभवसमेत समेटिएको कृतिमा देवस्तुति, पद्यखण्ड, गद्यखण्ड र झुमा दाहालका रचना गरी चार खण्डमा लेखिएको छ ।
डंगोलको एकल कविता वाचन
त्रिशुली । साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय कवि आरएम डंगोलको एकल कवितावाचन शनिबार सदरमुकाम विदुरमा सम्पन्न भएको छ ।
डंगोल गृह जिल्लामा पहिलो पटक एकल कविता वाचन लिएर उपस्थित हुनुभएको हो । विदुर –२ शेरामा जन्मिनुभएका कवि तथा समालोचक डंगोल राजधानीमा प्राध्यापनमा पनि संलग्न हुनुहुन्छ ।
त्रिशूली वाङमय प्रतिष्ठान तथा प्रगतिशील लेखक संघ र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘अन्तर’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’, ‘म माझी’, ‘फूलको कम्पन’, ‘जूनको कथा’, ‘पत्थर’, ‘प्रार्थना गीत’, ‘गुनासो’ शीर्षकलगायत दुई दर्जनभन्दा बढी नयाँ पुराना कविता वाचन गरिएको थियो । डङ्गोललाई कविता वाचनमा अन्य कविले समेत सघाएका थिए ।
त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा डा कृष्णप्रसाद घिमिरेले वाचित कवितामाथि समीक्षाका क्रममा डंगोलका कविताले समसामयिक अवस्थाको चिन्तनदेखि मनको कुरालाई बोकेको र उहाँमा सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्कन सक्ने खुबी भएको बताउनुभयो ।
कार्यक्रममा विदुरनगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाले साहित्य र कलाका लागि नगरसभाबाट बजेटसमेत राखेकाले आगामी दिनमा साहित्यिक कार्यक्रमलाई प्रोत्साहन गरिने बताउनुभयो ।
त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले नुवाकोटका स्रष्टा राष्ट्रिय पहिचान निर्माण गर्न सफल रहेकाले नुवाकोटवासीले साहित्यमा शिर ठाडो पार्नसक्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख प्रा कृष्णप्रसाद आचार्य, नगरपालिकाका उपप्रमुख गीता दाहाल, वडा नं ४ का अध्यक्ष वडाध्यक्ष टलकमान श्रेष्ठ, नेकपा (एमाले)का जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा तथा काठमाडौँंदेखिका साहित्यकारका साथै जिल्लाका स्रष्टाको उल्लेख्य सहभागिता थियो ।कार्यक्रममा प्रतिष्ठानका महासचिव राजेन्द्रमान डंगोलले कवि डंगोलको जीवनी प्रस्तुत गर्नुभएको थियो ।
नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा शुक्रबार नै साहित्य पदयात्रा सम्पन्न भएको छ । बट्टारदेखि शुरु भएको साहित्यिक पदयात्रा नुवाकोटको अशोकबाटिकामा पुगेर सम्पन्न भएको हो ।
नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा शिक्षासेवी शम्भुप्रसाद शर्मा, प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, शिवसुन्दर पुडासैनी, रामकृष्ण भट्ट, आशिक भट्ट, भगवती खनाल, कोमल नेपाल, भगवती लामा, प्रमिला परी, देउती दीर्घायु, सीताराम पौडेल, बुद्धराम चौधरी, सुमित्रा सुमीलगायतले कविता, हाइकु, मुक्तक, सिजोलगायत प्रस्तुत गर्नुभएको थियो ।