युगसम्बाद साप्ताहिक

साहित्यमा बिपीको अतुलनीय योगदान
Wednesday, 07.25.2018, 12:19pm (GMT5.5)

विश्वेश्वरप्रसाद कोइराला (बिपी)को राजनीतिक योगदान र उचाई जति छ त्योभन्दा माथि छ उहाँको साहित्यिक उचाई र योगदान । आजभोलि बिपीको यही पाटोलाई बढी महत्व दिएर अध्ययन–अनुसन्धान भैरहेको छ । प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका उहाँकोे साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ । 
कवि तीर्थ श्रेष्ठका अनुसार नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख व्यक्ति हुनुहुन्थ्यो । राजनीतिक रूपमा विशिष्ट छवि बनाउन सफल उहाँका साहित्य राजनीतिक विचार एवं प्रभावबाट मुक्त रहेको चर्चा गर्दै कवि श्रेष्ठले भन्नुभयो, “बिपीका साहित्यमा राजनीतिक गन्ध देखिँदैन तर उहाँको ‘एक रात’ कथामा राजनीतिकर्मीको पीडालाई भने सामान्य रूपमा व्यक्त गरिएको पाइन्छ ।”
उत्कृष्ट साहित्य सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैली प्रदान गरी उहाँले नेपाली साहित्य जगत्मा ठूलो गुन लगाउनुभएको उहाँले बताउनुभयो । साहित्यलाई कुनै राजनीतिक विचार कानूनले पनि नबाँध्ने बताउँदै श्रेष्ठले कोइरालाले आफ्नो जीवनको एक कालखण्डमा ‘म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ’ भन्नुभएको स्मरण गर्नुभयो । 
आफ्नै स्वच्छन्दपन साहित्यको विशिष्टता हुने कुरामा जोड दिँदै श्रेष्ठले बिपीले आफ्नो एक अभिनन्दन समारोहमा साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्नुभएको चर्चा गर्नुभयो ।
कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास छन् । उहाँका दोषी चश्मा र श्वेतभैरवी कथा संग्रहका साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति प्रकाशित छन् । कोइरालाका नेपाली र हिन्दी भाषामा गरी ३० वटा कथा छन् ।
साहित्यमा सोझो रूपमा कुनै किसिमको राजनीतिक प्रभाव नदेखिनु कोइरालाको विशिष्टिकृत साहित्यिक पहिचान भएको बिपी साहित्यका अध्येताहरू बताउँछन् ।
‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा विचार पक्ष’ शीर्षकमा विद्यावारिधि गर्नुभएका प्रा डा भूपति ढकाल ‘कमल’ सोझो रूपमा कुनै राजनीतिक प्रभाव साहित्यमा नदेखिनु कोइरालाको विशिष्ट साहित्यिक क्षमता भएको धारणा व्यक्त गर्नुभयो ।
बिपीका साहित्यक रचना विभिन्न क्षेत्रसँग सम्बन्धित रहेको बताउँदै उहाँले ‘हिटलर र यहुदी’का साथै ‘मोदी आइन्’ मानवतामूलक उपन्यास भएको बताउनुभयो ।
यी उपन्यासमा मानवताका विविध पक्षबारे चित्रण गरिएको उल्लेख गर्दै प्रा ढकालले ‘सुम्निमा’ उपन्यास संस्कृतिमा आधारित छ भने ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’ उपन्यास नारीमूलक हुन् ।
बिपीले आफ्ना साहित्यलाई सोझो रूपमा राजनीतिक प्रभावबाट मुक्त राख्न सकेको बताउँदै उहाँले प्रतिकात्मक रूपमा भने धेरै ठाउँमा राजनीति पाइने उल्लेख गर्नुभयो ।
“अविधा अर्थमा बिपीका साहित्यमा राजनीति देखिँदैन”, प्रा. ढकालले भन्नुभयो, “व्यञ्जना र लक्षणा अर्थमा भने उहाँका साहित्यमा धेरै ठाउँमा राजनीति घुसेको पाइन्छ ।” विश्व राजनीतिमा नै प्रभाव राख्ने बिपीको साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 
चितवनमा आयोजित एक अर्को कार्यक्रममा वक्ताहरुले विश्व जगतमा नेपाली साहित्यलाई चिनाउन विपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । जननायक विपी कोइराला स्मृति ट्रष्ट काठमाडौं, प्रजातन्त्रबादी प्राध्यापक संघ जिल्ला समन्वय समिति, चितवन र नेपाल लेखक संघ, चितवनले संयुक्तरुपमा आयोजना गरेको जननायक विपी कोइरालाको ३६ आँै स्मृति दिवसको अवसरमा आयोजित ‘विश्व साहित्य र समाज चेतनाका सन्दर्भमा साहित्यकार विपी’ विषयक विचार गोष्ठीका वक्ताले कोइरालाले नेपालमा मात्र नभएर विश्व जगतलाई चिनाउने गरी साहित्यिक क्षेत्रमा योगदान पु¥याएको बताएका हुन् । 
साहित्यकार विपीले नेपाली समाजमा साहित्यको माध्यमबाट चेतना फैलाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उनीहरूले नेपाली साहित्यले विपीलाई नजरअन्दाज गरेर हिड्न नमिल्ने बताएका थिए । सहभागीले विपीको साहित्य र राजनीतिक क्षेत्र छुट्टाछुट्टै बिधा भएको बताएका थिए । 
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा धु्रवचन्द्र गौतमले साहित्यमा राजनिति नजोडिने बताउनुभयो । साहित्यमा सामाजिकता ल्याउन सफल विपीका विषयमा आ –आफ्नै बुझाई रहेको उहाँले बताउनुभयो । विपीले आफ्नो जीवनमा साहित्यिक क्षेत्र र राजनीतिक क्षेत्रमा बराबरी उचाई बनाउन सफल हुनु भएको उहाँको भनाइ थियो । 
प्राज्ञ प्रा डा ज्ञानु पाण्डेले विपी मनुस्य अस्तित्वको आधारमा रचना गर्ने साहित्यकार रहेको बताउनुभयो । विपी खुल्ला किताब रहेको भन्दै उहाँले विपी सबैका मान्य साहित्यकार रहेको तर मान्य हुने व्यवहार हुन नसकेको बताउनुभयो । 
समालोचक प्रा डा गोविन्दराज भट्टराईले नेपाली साहित्यमा शोषित वर्गको प्रतिनिधित्व गर्ने साहित्यकारका रुपमा विपीलाई चिनिएको बताउनुभयो । हरेक जनताको दुःखलाई साहित्यमार्फत जनतामा पु¥याउने काम उहाँले गर्नुभएको डा भट्टराईले बताउनुभयो । 
कार्यक्रममा विपी स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद बलराम पौडेल, मिलनबाबु श्रेष्ठ, गिता वाग्ले, साहित्यकारहरू पुष्प अधिकारी ‘अञ्जली’, सुरेन्द्र अस्तफल, गुराँस वन, चेतराज रेग्मी, केशवराज चालिसे, एकनारायण पौडेल लगायतले विपीको साहित्यिक योगदानको चर्चा गर्दै उहाँको विचारअनुसार पार्टी चल्न नसक्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको बताउनुभयो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com