काठमाडौं । साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधिको शनिबार साँझ उपचारका क्रममा निधन भयो । नेपाली समाजमा हेपिएकाहरूले प्रयोग गर्ने जदौँ अभिवादनलाई दाहाल यज्ञनिधिले हेपिएकाहरूको समर्थनमा र सामन्ती चिन्तन तथा संस्कारविरुद्ध प्रयोग गरे । बाचुञ्जेल नेपाली भाषा, साहित्यको सेवा गरेका, हेपिएका, दबिएकाहरुको आवाज उनीहरुकै भाषामा सम्बोधन गरेर समानताको वकालत गरेका अत्यन्त कर्णप्रिय आवाजका धनी दाहालले सामन्ती ढर्रा, अन्धविश्वास, भेदभाव, छुवाछुत सबैबाट मुक्ति खोज्न साहित्यको प्रयोग गरे ।
यति मात्र हैन, सेवा नै आफ्नो कर्तव्य ठान्ने दाहालले आफ्नो शरीरलाई भष्म हुन नदिएर मरेपछि पनि अरुको सेवा नै गरे । उनको इच्छा अनुसार अन्मि संस्कार नगरी उनको शब महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बुझाइएको छ ।
६५ वर्ष अगाडि पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेलस्थित खाल्लेको सामान्य परिवारमा जन्मेर धरान र त्यसपछि काठमाण्डूको वाल्मिकि क्याम्पसमा अध्ययन गर्दैगर्दा साहित्यतर्फ उन्मुख भएका हुन् ।
निर्दलीयकालमा स्वतन्त्रता आन्दोलनका नेता एवम् साहित्यकार बिपी कोइरालाबारे रेडियोमा सामाग्री प्रसार गर्ने, बहुदलकालमा शासकहरूको समेत कठोर आलोचना गर्ने दाहाल यज्ञनिधिले लोकभाका, लोकचिन्तन, विपन्न वर्गको पक्षपोषण जति गरे त्योभन्दा बढी नेपाली साहित्यको उत्थान, नेपाली संस्कृतिको परिमार्जनमा सहयोग पु¥याए ।
नेपाली साहित्यमा छन्द विधालाई उनको वाचनकलाले अत्यन्त लोकप्रिय बनाउन पुग्यो । त्यतिबेलाको एक मात्र विद्युतीय संचारमाध्यम रेडियो नेपाललाई आमनागरिकमा अझ प्रिय बनाउन साहित्य संसारले छुट्टै भूमिका निर्वाह ग¥यो भने अनेक साहित्यकारहरूका लागि प्रेरणा बन्यो । एकातिर शिक्षण पेशा, अर्कातिर साहित्य लेखनीको दोहोरो जिम्मेदारी लिँदा पनि उनले आफूलाई अब्बल बनाए ।
विसं २०३४ सालबाट रेडियो नेपालमा साहित्य संसार र हाम्रो संस्कृति कार्यक्रमदेखि एचबिसि एफएम हुँदै केही समययता रेडियो अन्नपूर्ण नेपालमा सुनिरहेको साहित्यिक अभिवादन जदौँ आफैमा परिचय बनेको छ दाहाल यज्ञनिधिको ।
रेडियो नेपालका हरेक स्रोताको कानमा गुञ्जन्थ्यो दाहालको आवाज अब यो आवाज रेडियोको लाइब्रेरीमा सीमित भएको छ । झण्डै २० वर्षअघि दुवै मिर्गौला फेरेका उनी ६ वर्षदेखि फेरिएका मिर्गौला समेत बिग्रेर जीवनगतिलाई धानिरहेका थिए ।
दरबार हाइस्कूलका शिक्षकका साथै सर्जक दाहालले जदौँका निबन्धहरु प्रकाशित गरेका छन् भने जदौंको जीवनी लेख्ने रमेश शुभेच्छुकले उनका विविध आयामहरु खोतल्ने काम गरेका छन् ।