युगसम्बाद साप्ताहिक

नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती
Wednesday, 10.10.2018, 01:58pm (GMT5.5)

नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो । 
प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उहाँहरूको नियुक्ति भएको हो ।
नियुक्ति लगत्तै प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष  उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले  आज पद तथा गोपनीयताको शपथ लिनुभयो छ । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो  ।
उहाँले प्रतिष्ठानले कृति प्रकाशनको सङ्ख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिनुभयो । प्रतिष्ठाननलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उहाँले निर्देशन दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको सो अवसरमा सहभागिता थियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com