काठमाडौं । ‘माधवी’ जस्तो अतुलनीय उपन्यासलगायत ४५ कृतिका लेखक अक्षर शिरोमणि मदनमणि दीक्षितको ९७ औं जन्म दिवस, उहाँकी धर्मपत्नी रीता दीक्षितको ९३ औं जन्म दिवस तथा उहाँहरूको वैवाहिक जीवनका आनन्दमय ८० वर्ष सम्पन्न भएको अवसर पारेर “मदन माधवी अध्ययन प्रतिष्ठान”ले चैत २ गते शनिवार राजधानीमा आयोजित एक विशेष समारोहका बीच उहाँका पनातिनिद्वयका हातबाट मदनमणिको ४२ औं प्रकाशित कृति “मेरी माता” विमोचित भएको छ ।
एउटा कालखण्डको बहुचर्चित अग्रणी पत्रिका समीक्षाका सम्पादक रहनुभएका बरिष्ट पत्रकार तथा युवावयको केही वर्ष नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहनुभएका राजनीतिज्ञ एवं यो उमेरमा पनि कृति लेखनलाई जारी राख्न सक्षम रहनुभएका मुर्धन्य साहित्यकार दीक्षितको विद्वतापूर्ण बहुआयामिक व्यक्तित्वका अनेक पाटाहरूवारे प्रकाश पार्नेगरी विभिन्न वक्ताहरूले मन्तव्य प्रकट गर्नुभएको थियो ।
मदन माधवी अध्ययन प्रतिष्ठानका अध्यक्ष नगेन्द्र शर्माले अध्यक्षता गर्नुभएको सो समारोहमा प्रा. डा. ध्रुवचन्द्र गौतम, प्रा. डा. विना पौडेल, डा.हरि सिलवाल लगायतका वक्ताहरूले उहाँका कृतिहरूमा नारी पात्रहरूको महत्वपूर्ण भूमिका रहेको तथ्य उजागर गर्दै पूर्वीय दर्शन र पाश्चात्य दर्शनको गहन अध्ययनको पनि उत्तिकै प्रभाव रहेको उल्लेख गर्नुभएको थियो । सामाजिक विकास अध्यनका लागि उहाँका कृतिहरू आधारभूत स्रोत बन्नसक्ने धारणा पनि वक्ताहरूले राख्नुभएको थियो ।
साहित्यानुरागीद्वय नेकपाका नेता रघुजी पन्त र नेपाली कांग्रेसका नेता महेश आचार्यले पनि सो अवसरमा स्रष्टा दीक्षितको साहित्यिक, प्राज्ञिक एवं राजनीतिक योगदानमाथि प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानका तर्फबाट स्वागत मन्तव्य राख्दै डा.देवीप्रसाद सुवेदीले दीक्षितज्यूका रचनाहरूको प्रभावकारिताबारे गहन विश्लेषण प्रस्तुत गर्नुभएको थियो भने परिवारजनका तर्फबाट उहाँका नाति अनिश दीक्षितले उहाँको सानिध्यमा रहँदाका अनुभवहरू सुनाउनुभएको थियो ।