युगसम्बाद साप्ताहिक

विदेशमा नेपाली भाषा मोह : पोर्चुगलमा खुल्यो नेपाली पाठशाला
Tuesday, 07.30.2019, 12:26pm (GMT5.5)

काठमाडौं । विदेशमा जन्मेहुर्केका बालबालिकाहरु नेपाली भाषा, संस्कृति र परम्पराबाट विमुख हुँदै जान थालेका छन् । यस्तो चिन्ताकाबीच विभिन्न देशमा नेपाली भाषा पाठशाला संचालनमा आएका छन् । यस्तैमा युरोपेली मुलुक पोर्चुगलमा नेपाली पाठशाला संचालनमा आएको छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा नेपाली भाषाप्रति देखिएका समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ । 
समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बनस्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा पाँच वर्षमाथिका र १२ वर्षमुनिका २५ नेपाली बालबालिकालाई कखरा सिकाइँदै छ ।  
पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा लेखनमा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले राससलाई जानकारी दिनुभयो । दुई जना नेपाली शिक्षिकामार्फत साताको तीन दिन नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताउनुभयो । 
राईका अनुसार पोर्चुगलको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको वार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निःशुल्क कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । 
पाठशालामा बालबालिकालाई साताको दुई दिन सोमबार र मङ्गलबार नेपाली भाषासम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका विद्या आचार्यले बताउनुभयो । उनीहरूलाई कखरादेखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपालसम्बन्धी जानकारी, वाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाइएको छ । 
नेपालमा रहँदा डेढ दशक बढी अध्यापन पेशामा सक्रिय रहनुभएकी आचार्यले विदेशी भूमिमा नेपाली बालबालिकालाई अध्यापन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिनुुभयो । अधिकांश बालबालिका पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने भए पनि नेपाली भाषामा भने समस्या रहेको उहाँले बताउनुभयो । आचार्यका अनुसार पाठशालामा बालबालिका नियमित जस्तै आउँछन् । उनीहरू नेपाली सिक्न उत्साहित छन् । 
पाठशालामा साताको एक दिन सिर्जनशील र अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ । आफ्ना बालबालिकामा नेपाली भाषामा समस्या देखिएपछि चिन्तित बनेका अभिभावकलाई नारी समाजको यो अभियानले केही राहत मिलेको यहाँका अभिभावको प्रतिक्रिया छ । विदेशी भूमिमा हुर्केका आफ्ना बालबालिकाले नेपाली भाषा नभुलुन् र नबिर्सिउन् भन्ने उनीहरूको चाहना छ । तर बालबालिका विद्यालयमा पनि पोर्चुगाली भाषा बोल्ने र साथीसङ्गी पनि पोर्चुगाली हुने भएका कारण पनि नेपाली भाषामा समस्या देखिएको अभिभावकको बुझाइ छ । 
विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन हुँदा आफूहरूलाई राहत मिलेको अभिभावक सरिता गौतमले बताउनुभयो । पाठशाला जान थालेपछि आफ्नी छोरीको नेपाली लेख्ने र पढ्ने बानीको विकास भएको उहाँले बताउनुभयो । आंशिक मात्र नभएर नेपाली पाठशालालाई नियमितरूपमा सञ्चालन गर्नसके अझै प्रभावकारी हुने गौतमको तर्क छ । 
नेपालमा कक्षा २ अध्ययन गर्दै गरेका छोरालाई चार वर्ष अगाडि पोर्चुगल ल्याएकी पोखराकी वसन्ती कुँवरले आफ्नो छोराले नेपाली भुल्न थालेपछि चिन्तित बनेको बताउनुभयो । “विदेशमा बसिएको छ, छोराले यहाँको सबै कुरा जानेको छ तर नेपाली भाषा र संस्कार भुल्दै गएको छ । आफन्तहरू कसलाई के साइनोले बोलाउनुपर्छ भन्ने कुरा पनि बिर्सिसके । नेपाली संस्कार र संस्कृति नै भुल्छन् कि भन्ने पीर छ”, कुँवरले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी जस्ता अभिभावकका चिन्तालाई पाठशालाले राहत प्रदान गरेको छ ।” पाठशालालाई सःशुल्क नै बनाएर भए पनि नियिमित र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ । 
पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जागृति गर्न पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजकी पूर्वअध्यक्ष सीता बरालले बताउनुभयो । विभिन्न समस्या भए पनि विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरूलाई निकै खुशी लागेको उहाँले बताउनुभयो । 
“विश्वको जुनसुकै कुनामा रहे पनि हामी नेपाली हौँ । विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु हाम्रो दायित्व हो । उनीहरूले नेपाली भाषा र संस्कृति नभुलुन् र नबिर्सिउन् भन्ने हाम्रो मुख्य उद्देश्य हो”, बरालले रासससँग भन्नुभयो । यो अभियानले नेपाली भाषा र नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
आगामी दिनमा यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय गरेर पाठशालालाई थप व्यवस्थित गर्दै सरकारीस्तरबाटै स्वीकृति लिएर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com