युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी
Monday, 02.13.2012, 03:13pm (GMT+5.5)

नेपाली वाङ्मयका वरिष्ठ साधक, आधुनिक नेपाली साहित्यका बहुआयामिक स्रष्टा, सामाजिक–राजनैतिक द्रष्टा, अन्वेषक र विश्लेषक रहेका महेश्वर शर्मालाई गण्डकी साहित्य परिषद्को अगुवाइमा सम्पन्न अभिनन्दन कार्यक्रममा उहाँप्रति अन्य कतिपय संस्था र बौद्धिक व्यक्तित्वहरूले पनि हार्दिक अभिवादन र अभिनन्दन समर्पण गरे । श्री शर्माको ८१ वर्ष प्रवेशका अवसरमा सपत्नीक उनलाई शुभकामना र दीर्घायूको कामनाका शब्दपुष्पहरूले अर्चना गर्ने कार्यक्रमको एउटा पाटो थियो भने अर्को पाटो उहाँको जीवनी र उनका कृतित्वलाई उजिल्याउने थियो । वि.सं. १९८८ माघ १२ गते सोमबारका दिन स्याङ्जाको चिलाउनेबास–७ थुमगाउँमा जन्मेका यी ८१ वर्षीय वाङ्मय तपस्वीको अभ्यर्चना एक उल्लेखनीय र महत्वपूर्ण कार्य थियो ।

महेश्वर शर्माको जीवनको दीर्घकाल र खास गरी जीवनको पूर्वाद्र्ध नेपालको प्रशासनिक सेवामा बितेको थियो भने जीवनको उत्तराद्र्धका वर्षहरूमा उनको दिनचर्या सामाजिक–राजनैतिक विश्लेषण र साहित्यिक लेखनमा समर्पित रहँदै आएको छ ।शारीरिक रुपले तन्दरुस्त र मानसिक–बौद्धिक दृष्टिले सक्रिय जीवन उनको विशेषता हो ।

नेपाली भाषा साहित्यसेवी महेश्वर शर्माको साहित्यिक अभ्युदय वनारसबाट प्रकाशित ‘युगवाणी’ पत्रिकामा प्रकाशित ‘अंगुठी’ शीर्षक निबन्धबाट भएको थियो । त्यसपछिका अहिलेसम्मका वर्षहरूमा उनले राजनैतिक–सामाजिक लेख र पुस्तकका अतिरिक्त साहित्यका विभिन्न विधाहरूलाई आफ्नो लेखनको माध्यम बनाएका छन् । कविता, कथा, उपन्यास, नाटक, निबन्ध जस्ता सबै विधागत सिर्जना र आत्मवृतान्तलाई समेटेको उनको कलमले सामाजिक–राजनैतिक विषयको समसामयिक लेख–टिप्पणीहरूलाई पनि अँगालेको पाइन्छ । सामाजिक–राजनैतिक प्रकारका उनका लेखहरू परिवर्तन र सुधारकामी प्रकारका छन् भने साहित्यिक विधागत रचनाहरू मानवीय मूल्यको स्थायी र चिरन्तन पक्षसंग सम्बन्धित छन् ।

साहित्यिक विधागत दृष्टिले महेश्वर शर्माको लेखनको उवरत्व आख्यान विधामा देख्न सकिन्छ । ‘कालखण्ड’ (२०५१, ‘उन्माद’ (२०५१), ‘देवघाट’ (२०५४), ‘योगमाया’ (२०५४), ‘जैन खाँड’ (२०६१), ‘कथा कहरको’ (२९६३) र ‘मुर्कुट्टा’ (२०६६) जस्ता औपन्यासिक कृतिहरू र ‘बसिबियाँलो’ (२०५२) कथासंग्रहले विधागत रुपमा आख्यान विधामा नै उनको सर्वोपरिता स्थापित भएको पाइन्छ । आफ्ना सामाजिक–राजनीतिक जीवनमा उनले अनुभव गरेका र भोगेका कैयन् घटना र तिनका अनुभूतिहरू उनका उल्लिखित आख्यानपरक कृतिहरूमा पाउन सकिन्छ । नेपाली समाज र विशेष गरी पश्चिमाञ्चलको ग्रामीण सामाजिक परिवेश उनका आख्यानको मुख्य विशेषता हो । उनका आख्यानमा त्यहाँको ग्रामीण जनजीवन र संस्कृति जीवन्त रुपमा प्रस्ुतुत भएको पाइन्छ । ग्रामीण बोलीचालीमा प्रयुक्त हुने स्याङ्जा र त्यस वरपरका क्षेत्रका भाषिकाका पद–पदावलीहरूको प्रयोगले गर्दा उनी ग्रामीण आञ्चलिक जनजीवनका आख्यानकार हुन् भन्ने थाहा हुन्छ । यस रुपमा हेर्दा श्री शर्मा नेपाली सामाजिक यथार्थवादी आख्यानकारका रुपमा देखापर्छन् ।

महेश्वर शर्माको कविता विधासंग सम्बन्धित पुस्तकाकारमा एउटा मात्र कृति ‘स्थिर यात्रा’ (२०५९) पाइन्छ । उनी कवितामा वर्णमात्रिक शास्त्रीय छन्द र गद्यलय दुवै शिल्पका रचनाकार हुन् भन्ने बुझिन्छ । ‘नेपालस्तोत्रम्’ जस्तो लघुकृतिमा पनि उनको कवि व्यक्तित्व झल्किएको देखिन्छ । तर पनि उनको साहित्यिक मूल प्रवाह गद्य नै हो ।

समीक्षक–समालोचक व्यक्तित्व पनि महेश्वर शर्माको साहित्यिक मूल शरीरको एउटा सानो अङ्ग हो । उनले आफ्ना समीक्षामूलक रचनाहरूद्वारा नेपाली साहित्य र साहित्यकारका साथै नेपाली सांस्कृतिक पक्षहरूको संक्षिप्त र सूक्ष्म विवेचना गरेका छन् । उनको समीक्षात्मक लेखनलाई प्रभावपरक समालोचनाकै एउटा अङ्गका रुपमा लिन सकिन्छ । मोदनाथ ‘प्रश्रित’को ‘मानव’ महाकाव्यको समीक्षा र ‘पूर्वीय काव्य परम्पराको अध्ययन’ शीर्षक लेखहरूले उनको समीक्षाकीय गहिराइप्रति स्पष्ट संकेत गरेका छन् ।

आफ्नो साहित्ययात्राका पछिल्ला दिनमा आएर महेश्वर शर्माले ‘एउटा क्रुर कथा’ शीर्षक नाट्यकृति पनि प्रकाशित गरेका छन् । ऐतिहासिक खोज र अन्वेषणका क्रममा पाएका अनुभवलाई साहित्यमा घुसाउने उनको प्रवृत्ति यसपूर्व ‘जैन खाँड’ उपन्यासमा झुल्किसकेको हो र पछिल्लो लेखनमा नाट्यविधामार्फत त्यसले प्रविष्टि पाएको छ । विशेष गरी स्याङ्जा र त्यस वरपरका ऐतिहासिक वृत्तमा खोजिपसेका शर्माले ‘स्याङ्जाका चौबीसे राज्य’ (२०५६)का माध्यमद्वारा आफ्नो ऐतिहासिक खोज–अन्वेषणप्रियतालाई दर्शाइसकेकै हुन् । त्यसमा उनको थप विशेषता ती खोज गरिएका विषयहरूलाई साहित्यका विधागत रचनाद्वारा प्रस्तुत गर्नु रहेको स्पष्ट हुन्छ । यसले उनको अन्वेषक र साहित्यिक दुवै व्यक्तित्व एकसाथ प्रस्तुत हुने क्षमताको परिचय पनि दिएको छ ।

महेश्वर शर्मा आफ्नो ८१ वर्षे जीवनमा राणाकालदेखि पञ्चायतकालसम्मको नेपाली समाज र राजनीतिका द्रष्टा, भोक्ता र निरीक्षकका रुपमा अघि नै देखापरिसकेका हुन् । उनी तत्कालीन सामाजिक जीवनका तटस्त द्रष्टा मात्र नभएर तिनका विवेचक, विश्लेषक र मार्गदर्शक पनि भएको कुरा उनका ‘पञ्चायती राजकाज’ (२०२२), ‘रन्थमोल’ (संस्मरण २०५०), ‘तर ... तापनि’ (निबन्धसंग्रह २०५१), ‘अस्तित्वको खोजीमा’ (निबन्धसंग्रह २०५३), ‘वरं न राज्यं न करजान राज्यम्’ (लेखसंग्रह २०५३), ‘अरालिएका स्वर’ (आत्मवृतान्त २०५९), ‘कुरा र कुरा’ (आत्मवृतान्त २०६४) लगायतका झण्डै पौने दर्जन कृतिहरूले प्रमाणित गरेका छन् । उनका उपर्युक्त कृतिहरूमध्ये ‘तर ... तापनि’ र “अस्तित्वको खोजीमा’ कृतिमा आत्मपरक निबन्धात्मकता देखापर्छ भने ‘अरालिएका स्वर’, ‘रन्थमोल’र ‘कुरा र कुरा’मा आत्मजीवनीकारिताको स्पष्ट झलक पाइन्छ । यसरी हेर्दा उनका यी कृतिहरूमा आत्मपरिकता र वस्तुपरकता दुवेको समन्वय र सन्तुलन पनि देख्न सकिन्छ ।

महेश्वर शर्माको नेपाली भाषा र वाङ्मय सेवाको एउटा पाटो अनुवाद पनि हो । विख्यात नेपाली राजनीतिज्ञ विश्वबन्धु थापासंगको संयुक्त प्रयासमा अनुदित ‘फिनल्याण्ड ः मिथक र वास्तविकता’ ९ँष्लबिलम ःथतज बलम च्भबष्तिथ०ले शर्माको अनुवादक व्यक्तित्वलाई चिनाएको छ । उनी अंग्रेजी मात्र नभएर संस्कृत भाषामा पनि अनुवादको क्षमता राख्दछन् । त्यसको पुष्टि उनको ‘बालसूक्तिसंग्रह’ले दिएको छ ।

नेपालको राणाकालीन र पञ्चायतकालीन सामाजिक जीवन हुँदै २०४६ सालदेखि आजसम्मको सामाजिक–राजनैतिक परिवर्तन, संरचना र गतिविधिहरूका द्रष्टा रहेका महेश्वर शर्माले आफ्ना सयौं सम्बन्धित लेखहरूका माध्यमबाट तत्कालीन समयमा देखापरेका विकृति र विसंगतिहरूमाथि शब्दवाणहरू चलाएका छन् । अहिले पनि उनको लेखन सशक्त रुपमा देशको अराजकता र अव्यवस्थाप्रति लक्षित हुँदै चलिरहेको छ । खास गरी उनको लेखनको केन्द्रीयता देशभक्ति, राष्ट्रियता र सामाजिक सुधारमा नै केन्द्रित रहेको छ । उनी अराष्ट्रिय र वैदेशिक दलाल चरित्रका कटु आलोचकका रुपमा प्रस्तुत हुने गरेका छन् । त्यस्ता राष्ट्रद्रोही, अराजक र विदेशभक्तका बिरुद्ध आफ्नो लेखनलाई प्रस्तुत गर्ने क्रममा उनी समसामयिक सामाजिक र राजनैतिक व्यवस्थाका सचेतकको भूमिकामा प्रस्तुत हुन्छन् । उनले आफ्ना त्यस्ता लेखहरू बीसौं वर्षदेखि ‘युगसम्वाद’ साप्ताहिकको स्तम्भलेखनका माध्यमबाट प्रस्तुत गर्दैआइरहेका छन् र अन्य कतिपय समाचार पत्रपत्रिकाहरूलाई पनि उनले आफ्नो विचार पोख्ने माध्यमका रुपमा समय समयमा माध्यम बनाउँदै आएका छन् ।

महेश्वर शर्मा साहित्यिक विधागत सिर्जना र सामाजिक वैचारिक चिन्तनप्रधान लेखकका रुपमा निरन्तर समर्पित व्यक्तित्वको पर्यायवाची नाम हो । विगत ६ दशकभन्दा बढी समयदेखि नेपाली भाषा–साहित्य र समग्र वाङ्मयका सेवक श्री शर्मा यसअघि पनि आदृत र सम्मानित हुँदैआएका हुन् । तापनि उनको जन्मस्थलकै अञ्चल गण्डकीका नामबाट खुलेको ‘गण्डकी साहित्य परिषद्’ले गरेको सम्मान र अभिनन्दनले उनीप्रति देखाएको आत्मीयताले विशेष मूल्य र महत्व राख्दछ । राष्ट्रिय स्तरमै सम्मानित यी व्यक्तित्वलाई गरिएको अभिनन्दनको यो शृङ्खला अरु अगाडि बढोस् । कामना गरौं ।



Rating (Votes: )   
Share     Print


Other Articles:
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]