युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:06pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का
Tuesday, 12.10.2013, 11:06am (GMT+5.5)

काठमाडौं । देशका लागि मरिमेट्ने कोही छ भने खेलाडीहरू नै छन् भन्ने पछिल्लो घटनाक्रमहरूले सिद्ध गरिसकेको छ । यस्तो सफलता र परिवर्तन्का लागि भीडले हैन एउटै मान्छेको सकारात्मक सोच र दृढता नै काफी हुन्छ भन्ने पनि सिद्ध भएको छ । नेपाली क्रिकेट टोलीको प्रशिक्षक बनेर आएका पुदुसु दसानायकेले नेपाल आउनासाथ आफ्नो उद्देश्य नेपाललाई विश्वकपमा पुर्याउने रहेको बताएर सोही अनुसारको तयारी गरे र आफ्नो भनाईलाई सत्यमा परिणत गरिदिए । विश्वका कुनै पनि मुलुकको सपना बनिरहेको विश्वकप खेल्न योग्य भएको नेपाली क्रिकेट टोलीको सम्मानमा आयोजित एक कार्यक्रममा क्रिकेट क्याप्टेन पारस खड्काले सो कुरा स्वीकार मात्र गरेनन् देश विकासको जिम्मा लिएका भनिनेहरूलाई गतिलो सन्देश पनि दिए । त्यो समारोहमा पारसको भावुकता र उनको अभिव्यक्तिले खेलाडीहरूले मात्र राष्ट्र सोच्छ अभिव्यक्तिले खेलाडीहरूले मात्र राष्ट्र सोच्छन् भन्ने पनि पुष्टि भयो । किनभने उनीहरू सीमित स्रोत साधनका बीचमा आफूलाई अब्बल सिद्ध गर्न लागिपरे र विश्वकपमा छनोट भए ।

यस्तो स्वर्णिम क्षणमा राष्ट्रिय भावना भएका जो कोहीको आँखाबाट आँसु झर्छ र भावुक हुँदै आफ्नो मनको भावना अभिव्यक्त गर्छ । त्यस्तै भयो मंगलबार होटल अन्नपूर्णमा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव युवराज लामाले अत्यन्त भावुक हुँदै झण्डै झण्डै आँसु खसालेपछि बोल्ने पालो आएका क्रिकेट क्याप्टेन पारस खड्का बोल्नै सकेनन्, उनको गला अबरुद्ध भयो, आँखाबाट आँसु झरे । 

मान्छे दुई कुराले रुन्छ, कि अत्यधिक खुसी हुँदा कि दुःख पर्दा । मंगलबार यस्तै आँखुको भेल बग्यो नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको आँखाबाट । पारसको त्यो आँसु दुःखले हैन विश्वकपमा छनोट भएपछि आयोजित सम्मान कार्यक्रममा खुसीले बगेको हो ।

नेपालले अन्तर्रास्ट्रिय क्रिकेटमा पाइला चालेको १७ वर्षमा विश्वकपको ढोका खोल्यो । झण्डै एक दशकअघिदेखि विश्वकपको सपना देखेको नेपाली टोली विश्वकपको ढोकामा पुगिसक्दा आईसीसीको नियम परिवर्तनले त्यो ढोका बन्द भएको थियो । तर, अहिले विश्व टी २० बाट नेपालले विश्व क्रिकेटमा आफूलाई शक्तिशाली रुपमा प्रस्तुत गरिसकेको छ । नेपाल गत साता युएइमा सम्पन्न छनोट चरणमा तेस्रो स्थान हाँसिल गर्दै विश्वकपमा छनोट भयो । यो क्षण नेपाल र नेपालीका लागि मात्र होइन विश्व क्रिकेटका महान हस्तीहरूलाई पनि खुसीको क्षण बन्यो ।

सरकारले क्रिकेट खेलाडीलाई अहिलेसम्मकै सर्वाधिक धनराशीले पुरस्कृत गर्ने घोषणा गरेको छ भने नेपाल क्रिकेट संघले मंगलबार खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्याे । त्यस्तै सशस्त्र प्रहरी बलले पनि बिहिबार खेलाडीलाई नगद चार लाख रुपैयाँसहित सम्मान गर्याे । त्यो क्षण सबैको आँखामा थिए कप्तान पारस खड्का ।

हो, उनै पारस नेपाली र अंग्रेजी दुबै भाषामा धाराप्रवाह बोल्ने मात्र होइन स्पष्ट र दृढ अभिव्यक्ति दिन माहिर मानिन्थे तर उनी मंगलबार भक्कानो छोडेर रोए अनि, सबैलाई भावुक बनाइदिए । उनकै कप्तानीमा नेपालले यति ठूलो सफलता हात पार्दा उनको मन भावुक नहुने कुरै भएन । त्यसैले सम्मानपछि आफ्नो बोल्ने पालो आउँदा उनको वाक्य थियो “म आँसु रोक्न चाहिरहेको छु तर रोक्नै सकेको छैन” । पारस भन्दै थिए “साँच्चै एउटै मान्छे (प्रशिक्षक पुवुदु दासानायके)को सोचले मात्र हामी विश्वकपमा पुग्यौं । हामी सबै मिलेर किन देश निर्माण गर्न सक्दैनौं ?”

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेपाल सरकारका अन्य मन्त्री तथा विभिन्न व्यवसायीसहित खेलकुदका पदाधिकारीहरूको अघि भावुक हुँदै पारसले भने “हामी सबै भन्छौं देश विकास गर्ने, देश बनाउने भनेर । देश बनाउन के गर्नुपर्दाे रहेछ, अहिले थाहा पाइरहेछौं” । उनको यो अभिव्यक्ति केवल क्रिकेटसंग मात्र सम्बन्धित नभएर सिंगो देशको अवस्थाप्रतिको गुनासो थियो । देश विकास गर्न भीड हैन एउटा स्पष्ट दृष्टिकोण भएको केही मान्छे भए पुग्छ भन्ने नै थियो । पारसको कथन थियो– “हामी मैदानमा अन्तिम समयसम्म सारा नेपालीको खुसीका लागि मात्र खेल्छौं ।”

उता नेपालका प्रशिक्षक पुवुदुले आफू नेपालमा पहिलोपल्ट आउँदा टिमलाई विश्वकप पुर्याउने प्रतिबद्धता गरेको उद्धृत गर्दै “त्यो अहिले सफल भएको छ र अब हामी अब अर्कै स्तरमा पुगेको” घोषणा गरे । “योभन्दा अघि बढ्न खेलाडीले धेरै मिहिनेत गर्नेछन् । हामीलाई सबैको सहयोग चाहिन्छ । न्युजिल्यान्डबाट फर्कदा यस्तै अर्को दिनको आशा छ । हामी अर्को विश्वकपमा पनि छनोट होऔं ।” भन्ने कामना गरे ।

साँच्चै नेपाली खेलाडीले सिंगो मुलुकलाई एकताबद्ध गरिदिए । शुभकामनाका ओइरो लागेका छन् । भारतीय क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकर, वेष्ट इण्डिजका ब्रायन लारा लगायतले नेपाली खेलाडीहरूको प्रतिभाको खुलेर प्रशंसा गर्दै नेपाल आउने बताएका छन् । नेपाली क्रिकेटले क्रिकेटका हस्तीहरूको ध्यान खिचेको यो क्षणको हामीले सदुपयोग गर्न सक्नुपर्छ । अहिलसम्मको अवस्था हेर्ने हो भने यो सफलता खेलाडी र प्रशिक्षकको मेहेनतको फल हो । यो सफलतालाई कायम राख्न र यो स्तर जोगाउन अब पूर्वाधार विकास र खेलाडीहरूको सेवा सुविधामा सरकारको ध्यान जानैपर्छ ।

त्यसै भएर बुधबार खेलाडीको सम्मानमा गरिएको नगर परिक्रमामा उपस्थितहरूले लगाएको नारै यस्तो थियो “विश्वकप खेलिन्छ स्टेडियम चाहिन्छ” । हुन पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नै छैन । कीर्तिपुरमा भएको त्रिभुवन विश्वविद्यालयको मैदानले अब नेपाली क्रिकेटको स्तर धान्न सक्दैन र यसैको भरपर्ने हो भने माथि उठ्न धेरै गाह्रो हुन्छ । नेपालले बढीभन्दा बढी प्रतियोगिता आयोजना गर्ने गरी अन्तर्राष्ट्रिय स्तरका मैदान बनाउन पहल गरिहाल्नुपर्छ । यसले मात्र चुलिएको नेपाली क्रिकेटको उचाइ कायम रहनसक्छ ।


Rating (Votes: )   
Share     Print




 
::| Latest News

 
[Page Top]