युगसम्बाद साप्ताहिक

विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित
Wednesday, 03.19.2014, 12:09pm (GMT5.5)

काठमाडौं । नेपालले आइसीसी विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ । पहिलोपटक विश्वकप प्रतियोगितामा सहभागी भएको नेपालको  यो पहिलो जित हो । 

आइबार साँझ नेपालले प्रस्तुत गरेको १५० रनको चुनौती  सामना गर्न जवाफी ब्याटिङमा उत्रेको हङकङले खराब सुरुवात गर्दै आफूलाई ६९ रनमा समेटेको थियो । हङकङलाई सस्तैमा समेट्न नेपाली टोलीका शक्ति गौचन र विनोद रेग्मीले समान तीन–तीन विकेट लिएका थिए भने  जितेन्द्र मुखियाले दुई र कप्तान पारस खड्काले एक विकेट लिएका थिए । 

प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गरेका शक्ति गौचन म्यान अफ द म्याच घोषित भए । बङ्गलादेशको चटगाउँस्थित अमद चौधरी रङ्गाशाला भएको उक्त खेलमा खेलमा नेपाली टोली पारस खड्काको कप्तानीमा मैदानमा उत्रेका थिए । नेपाली टोलीका ज्ञानेन्द्र मल्ल, पारस खड्का सुवास खकुरेल र शरद भेषवाकरले क्रमशः ४८, ३९, २२ र १४ रन बनाएका थिए । 

नेपालले यो जितसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचना गरेको छ भने समूह चरणका खेलमा दुई अङ्क बटुलेको छ । नेपालको विजयी सुरुवातको क्रिकेटका प्रशंसकहरूले राजधानीमा विजयोत्सव मनाएका छन् । 

प्रधानमन्त्रीसहितका नेताहरूबाट बधाइ

नेपाली खेल इतिहासमै सबैभन्दा ठूलो प्रतियोगितामा सहभागिता जनाएको नेपालले आइतबार विश्वकपको पहिलो खेलमा सानदार विजय हात पारेको छ । यसले सम्पूर्ण नेपालीलाई गौरवान्वित गराएको छ । यसै क्रममा नेपालले टी–२० विश्वकप क्रिकेटमा बिजयी सुरुवात गरेकोमा प्रधानमन्त्री सुशील कोइरालासहित नेताहरूले बधाइ तथा शुभकामना दिनुभएको छ ।

आइतबार राति ‘हङकङलाई ८० रनले पराजित गर्दै नेपाली टिम विजयी भएको खबरले मलाई अति हषिर्त बनाएको छ’ प्रधानमन्त्री कोइरालाले आइतबार नै वक्तव्य जारी गर्दै ‘राष्ट्रिय गौरव अभिवृद्धि गर्ने नेपाली क्रिकेट टिमलाई म यस अवसरमा हार्दिक बधाइ ज्ञापन गर्दछु ।’ भन्नुभयो ।

प्रधानमन्त्री कोइरालाले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पहिलोपटक सहभागी भएको नेपाली टिमको विजयी शुरुआत प्रशंसायोग्य रहेको बताउँदै यो सफलताले आउँदा प्रतियोगितामा पनि अझ उच्चस्तरको प्रदर्शन गरी विश्वकप चुम्ने सपना साकार पार्न सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई थप हौसला र प्रेरणा प्राप्त हुने आशा आफूले लिएको उल्लेख गर्नुभएको छ ।

त्यसै गरी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि फेसबुक र ट्वीटरमार्फत् नेपाली क्रिकेट टोलीलाई स्याबासी दिनुभएको छ । ‘हङकङमाथि सानदार जीत हासिल गरेर सम्पूर्ण नेपालीको शीर उँचो गराएको छ ।’ 

यसै गरी अर्थमन्त्री रामशरण महत, एमाले महासचिव ईश्वर पोखरेल, राजनीतिज्ञ निलाम्बर आचार्य, गगन थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नागरिक अगुवा देवेन्द्रराज पाण्डेलगायतले नेपालको पहिलो जीतमा खुसी मनाउँदै बधाइ र शुभकामना दिनुभएको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेल नेपालले मंगलबार आयोजक बंगलादेशसंग खेल्नेछ भने बिहिबार अफगानिस्तानसंग ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com