युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.22.2018, 01:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई
Monday, 02.02.2015, 06:23pm (GMT+5.5)

काठमाडौं । क्रिकेटमा राम्रो खेलेर मात्र हुँदैन, कहिलेकाहीं भाग्यले पनि साथ दिनुपर्छ । यस्तै भयो अघिल्लो हप्ता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा । प्रतियोगिताको दावेदारी प्रस्तुत गरेको नेपालले अन्ततः चौथो स्थानमा चित्त बुझाउनु पर्याे । डिभिजन १ खेल्ने र विश्वकसको छनोट खेल्ने आशाका साथ त्यहाँ पुगेको नेपालसरह नै ३ खेल जितेको नेदरल्याण्ड डिभिजन १ मा पुग्यो । तर विश्व क्रिकेट परिषदको गत बुधबार सम्पन्न बैठकले नेपाललाई डिभिजन १ को प्रतियोगिता खेल्न दिने निर्णय गरेको छ । यससंगै चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ ।

नामिबियामा गत शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै डिभिजन २ को हैसियत जोगाउन सफल भएको थियो । ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो । आइसिसीले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिएको हो । आइसिसी कार्यसमिति बैठकले यस्तो निर्णय पहिले नै गरिसकेको भए पनि बुधबार औपचारिक निर्णय गरेको हो । यसअघि नामिबियाबाट फर्कने क्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले सो जानकारी गराउनुभएको थियो ।

डिभिजन २ बाट शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो । विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन १ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो । आइसिसीले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने नीति लिएको हो ।

आईसीसीको यो निर्णयसंगै नेपाली क्रिकेटले अर्को एउटा ठूलो उपलब्धि हात पारेको छ । डिभिजन २ प्रतियोगिताका शीर्ष चार टोलीले ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डिभिजन १ का एकदिवसीय मान्यताप्राप्त टिमसँग खेल्न पाउनेछन् । नेपालले अन्तरमहादेशीय कप मात्र गुमाउने छ । त्यसो त नेपालका लागि प्रशिक्षक पुबुदुले केन्यासंग तेस्रो स्थानको प्लेअफमा पराजित भएपछि नै यस्तो बताएका थिए । पुबुदु अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहुँच भएका व्यक्ति हुन् ।

डिभिजन २ मा नेपाल चौथो स्थानमा रहे पनि प्रदर्शन भने सानदार रह्यो । सुरुको खेलमा युगान्डासँग २ रनको हार भोग्दै डिभिजन २ को सुरुआत गरेको नेपाल लगत्तैको खेलमा नेदरल्यान्ड्सलाई २ विकेटले हराउँदै लिकमा फर्किएको थियो । तेस्रो खेलमा क्यानाडालाई ७ तथा चौथो खेलमा आयोजक नामिबियालाई ३ विकेटको नतिजामा हराएर नेपालले आफूलाई उपाधिको मुख्य दाबेदारका रूपमा उभ्याएको थियो । 

समूह चरणको अन्तिम खेलमा केन्यासँग नसोचेको हार भोगेपछि नेपाल रनरेटमा पछि पर्दै शीर्ष २ मा अटाउन सकेको थिएन । रेलिगेसनको निकै नजिक पुगिसकेको केन्याले नेपाललाई ५ विकेटले हराएर डिभिजन २ मा हैसियत जोगाएको थियो । तेस्रो स्थानको प्लेअफमा पनि केन्यालाई नै प्रतिद्वन्द्वीका रुपमा पाउँदा नेपाल बदला लिने मौकाबाट चुकेको थियो । अन्तिम समयमा नाटकीय रूपमा विकेटपतन हुँदा नेपाल १५ रनले पराजित भएको थियो । 

आइसिसीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको निर्णयअनुसार नेपाल र केन्याले लिग च्याम्पियनसिपमा डिभिजन १ मा रहेका राष्ट्र हङकङ, नामिबिया, नेदरल्यान्ड्स, पपुवा न्यु गिनी, स्कटल्यान्ड र युएईसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१५ को मध्यबाट सुरु हुने लिग च्याम्पियनसिप दुई वर्ष चल्नेछ । लिग च्याम्पियनसिप अन्तर्गत नेपालसहित ८ टोलीले ‘होम एन्ड अवे’का आधारमा एक दिवसीय क्रिकेट खेल्नेछन् । यसअनुरुप सम्बन्धित देशले आलोपालो गरी खेल आयोजना गर्नुपर्नेछ । 

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले आइसिसीको निर्णयलाई नेपाली क्रिकेटको महत्वपूर्ण उपलब्धि भएको बताउँदै अहिले नेपालले एकदमै राम्रो खेलिरहेको र योभन्दा राम्रो गर्ने सम्भावना रहेको बताए । त्यस्तै कप्तान पारस खड्का आइसिसीको निर्णयले दुनियालाई नेपाली क्रिकेट देखाउने अवसर प्राप्त भएको भन्दै यो खेलाडी र क्रिकेट परिवारलाई मात्र होइन, सारा नेपालीका लागि गर्वको विषय भएको बताए । खड्काले विश्वकप खेलिसकेका र विश्वकप खेल्ने सम्भावना भएका राष्ट्रसँग लगातार राम्रो क्रिकेट खेल्नुको उपलब्धिका रूपमा यो निर्णयलाई लिनुपर्ने बताउँछन् । यो निर्णयसँगै नेपालले क्रिकेट व्यवस्थापन र भौतिक पूर्वाधारमा समेत ध्यान दिन जरुरी भएको बताउँदै कप्तान पारसले नेपालको क्रिकेटलाई अझै अघि बढाउने यो एउटा मौका भएकाले त्यसको सदुपयोग गर्नुपर्ने बताए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]