काठमाडौं । माओवादी लडाकुका रुपमा जनयुद्ध लडेर सेना समायोजनका क्रममा अयोग्य ठहरिएकी भोजपुरकी मिरा राई यतिबेला विश्वचर्चित बनेकी छिन् । अयोग्य लडाकु ठहरिएर शिविरबाट बाहिरिएपछि खेल क्षेत्रमा सक्रिय राई नेपाली अल्ट्रा म्याराथन धावकका रुपमा विश्वचर्चित छिन् । अझ विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएपनि उनको चर्चा अरु चुलिएको छ ।
विश्वप्रसिद्ध नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल हुनुभएको हो । नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो । बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्नु पर्ने हुन्छ । सर्वा्धिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन् ।
सो टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उहाँलाई छनोट गरिएको थियो ।
भोजपुरमा जन्मनुभएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आउनुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिनुभएकी राई शान्ति सम्झौतापछि वैदेशिक रोजगारीमा जानुभएको थियो । मिराले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन् । सेना समायोजन क्रममा अयोग्य भएपछि मात्रै उनको खेल जीवन सुरु भएको थियो । मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन् । उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन् ।
अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन।
विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन् ।
त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।