युगसम्बाद साप्ताहिक

कप्तान खड्काको दुर्लभ शतक
Wednesday, 10.02.2019, 05:09pm (GMT5.5)

काठमाडौं । नेपाली खेलकूदको क्षेत्रमा क्रिकेट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सबैभन्दा बढी चिनाउने खेल बनेको छ । विश्वकस समेत खेलिसकेको नेपाली क्रिकेटले अभिभावकविहीन अवस्थामा पनि ठूलाठूला सफलता पाएको छ । यस्तै सफलता शनिबार सिंगापुरमा प्राप्त भयो । नेपाल क्रिकेट संघले निर्वाचन मार्फत अध्यक्षसहितका पदाधिकारी चयन गरेकै दिन नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपालका लागि ऐतिहासिक शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका तर्फबाट सर्वाधिक शतक बनाउने खेलाडी समेत बने । 
टी २० क्रिकेटमा शतक बनाउनु कुनै पनि ब्याट्सम्यानका लागि दुर्लभ अवसर हो । तर शनिबार पारसले त्यो दुर्लभ अवसर प्राप्त गरे । सिंगापुरबिरुद्ध टी २० अन्तर्राष्ट्रिय सिरिजमा नेपालकै लागि पहिलो शतक प्रहार गरे । बिस्फोटक ब्याटिङ गरेका उनले ४९ बलमा शतक पूरा गर्दै नेपालका लागि तीव्र शतक बनाउन सफल भए । पारसले शतक प्रहार गर्ने क्रममा ६ चौका र ९ छक्का हिर्काएका थिए । यो नेपालका लागि पहिलो टी २० अन्तर्राष्ट्रिय शतक हान्ने खेलाडी बनेका पारसको व्यक्तिगत पाँचौ अन्तर्राष्ट्रिय शतक हो ।
पारस नेपालका लागि पहिलो एकदिवसीय शतक बनाउने खेलाडी समेत हुन् । उनले गत वर्ष युएईविरुद्धको एकदिवसीय सिरिजमा शतक हानेका थिए । त्यतिबेला उनले एक सय रन पूरा गर्ने क्रममा उनले ९२ बल खेलेका कुल ११५ रन बनाएका थिए । दुई वर्षअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा पनि पारसले शतक प्रहार गरेका थिए । उनले खेलमा नटआउट १ सय १२ रन जोडेका थिए ।
पारसले सन् २०१५ मा नामिबिया विरुद्ध दोस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। कीर्तिपुर मैदानमा भएको खेलमा पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेलेका थिए । 
पारसले सन् २०१२ मा पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । उनले एसिसी ट्रफी इलाइटमा कुवेत विरुद्धको खेलमा ७७ बलमै १ सय ६ रन प्रहार गरेका थिए । 
सिंगापुरबिरुद्ध ठूलो अन्तरको जीतसंगै पारसको शतक बदलाको अवसर पनि बन्यो । केही महिना अघि सम्पन्न विश्वकप छनोटमा सिंगापुरले नेपाललाई पराजित गरी यात्राको ढोका बन्द गरिदिएको थियो । युवाा खेलाडीहरुलाई समेटेर त्रिकोणात्मक टी २० सिरिज खेल्न सिंगापुर पुगेका पारसले पहिलो खेल जिम्वाब्बेसंग ५ विकेटले हारे पनि सिंगापुर बिरुद्ध दुर्लभ पारी खेलेका थिए ।
उक्त खेलमा नेपाली टोली ९ विकेटले विजयी भयो । १५२ रनको लक्ष्य पछ्याएको नेपाली टोलीलाई १६ ओभरमै विजयी बनाउन कप्तान पारसले अविजित १०६ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत पारसले केवल ५२ बलको सामना गरी ९ छक्का र ७ चौका पनि हिर्काएका थिए । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com